२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

एमालेलाई सभामुखकाे चुनौती : आरोपकाे पुष्टि गर्नू

  • २०७८ फागुन १८, बुधबार मा प्रकाशित २ साल अघि
  • फागुन १८, २०७८

    चाैतारा । एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख एक प्रसंगप्रति सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका छन् ।

    ‘एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको’ भन्ने ‌एमालेको आरोपका सम्बन्धमा सभामुखको सचिवालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

    ‘देशको जिम्मेवार राजनीतिक दलको लेटर हेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ ।’

    साथै विज्ञप्तिमा सभामुखमाथि लगाइएको आरोपलाई पुष्टि गर्न चुनौती पनि दिइएको छ ।

    ‘उहाँले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तबरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस