२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कोरोनाको नयाँ भेरियन्ट भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

  • २०७८ पौष २०, मंगलबार मा प्रकाशित २ साल अघि
  • पुस २०,२०७८

    एजेन्सी ।फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो।

    यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्।

    वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।

    यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्।

    फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।

    बी.१.६४०.२ स्वरूप फ्रान्स बाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसमा अनुसन्धान शुरु गरेको छैन।

    यसैबीच भाइरस विशेषज्ञ एरिक फिगल दिङलेले नयाँ स्वरूप आएको जानकारी दिँदै यो कुन श्रेणीमा पर्छ‚ त्यो भन्न केही समय कुर्नुपर्ने बताए।

    यसअघि २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा ओमिक्रोन स्वरूप फेला परेको थियो। हालसम्म यो एक सय देशमा फैलिसकेको छ।

    यसैबीच विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या २९ करोड २० लाख नाघेको छ।

    यो महामारीका कारण अहिलेसम्म ५४ लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ९ अर्ब २० करोडभन्दा बढी मात्रा खोप लगाइएको छ। यो तथ्याङ्क जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको हो।

    कोरोनाका सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिकी नागरिक छन्। यहाँ क्रमशः ५ करोड‚ ६१ लाख ५० हजार संक्रमित र ८ लाख २७ हजार ७२६ जनाको ज्यान गएको छ।

    भारत कोरोना संक्रमितको दोस्रो स्थानमा रहेको छ, यहाँ ३ करोड ४९ लाख २२ हजार ८८२ कोरोना संक्रमित छन् भने ४ लाख ८१ हजार ८९३ जनाको मृत्यु भएको छ।

    यसैगरी तेस्रोमा ब्राजिलमा २ करोड २२ लाख ९७ हजार ४२७ जना कोरोना संक्रमित भए भने ६ लाख १९ हजार ४०१ जनाको मृत्यु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस