२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

तातोपानी नाका : सरकारी चासो मात्रै धेरै, बन्दैन अझै असहज

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित २ साल अघि
  • मंसिर १५, २०७८

    चौतारा : प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको अगुवाइमा सरकारी सम्मिलित टोलीले आइतबार तातोपानी नाकाको अनुगमन गर्‍यो । चिनियाँ नाकाको भौतिक संरचना र सम्बद्ध अधिकारीसँग हालको अवस्थाबारे जानकारी लिन आएको टोलीमा १३ जना थिए ।

    टोलीलाई व्यवसायी र स्थानीयले सोधे, ‘तपाईंहरूले पनि अवस्था हेर्नुभयो । अब नाका सहज हुन्छ ?’ काठमाडौं फर्केपछि प्रतिवेदन तयार गर्ने सोही आधारमा नाकामा व्यापार बढाउन योजना बनाएर चीन पक्षसामु विवरण राख्ने आश्वासन टोलीले दिएको थियो । तर नाका चिनियाँ अधिकारीको आदेशअनुसार सीमित मात्रै खुलेको छ ।

    अनुगमन टोलीमा गृह र परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, सडक विभागका सिनियर डिभिजन इन्जिनियर, नेपाल इन्टर मोडल यातायात विकास समिति कार्यकारी निर्देशक आशिष गजुरेल र नेपाल पारवहन तथा गोदाम लिमिटेड व्यवस्थापक गिरिराज ज्ञवाली थिए ।

    दुई साताअघि सभामुख अग्नि सापकोटा, अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालय अधिकारीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठसहित दर्जनभन्दा बढी उच्च अधिकारीले नाकाबारे अनुगमन गरेका थिए । आयात–निर्यात सहज बनाउने विषयमा चीनसँग छलफल गरिसकेको र नाका पूर्ण रूपमा खुलाउन पहल भइरहेको सभामुख सापकोटाले बताएका थिए ।

    अर्थमन्त्री शर्माले पूर्ण रूपमा खुलाउन भौतिक संरचना व्यवस्थित बनाउन सरकार लागिपर्ने बताएका थिए । दुई वर्षअघि तातोपानी निरीक्षणमा आएको सरकारी अधिकारीको टोलीले प्रतिवेदन तयार पारिसकेको बताएको थियो, साथै नाका पूर्ण रूपमा खुलाउन भौतिक पूर्वाधार सुरक्षित व्यवस्थित हुनुपर्ने निर्क्योल निकालेको थियो ।

    भूकम्पको चार वर्षपछि आयात सहज बनाउने गरी खुलाउने भनिएको नाका भोटेकोशी बाढीपहिरोको अवरोधपछि खुल्दै बन्द हुँदै गर्न थालेको धेरै भयो । पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले आयात व्यापार खुम्च्याइदियो ।

    २० वर्षअघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भन्छन्, ‘नाका कहिल्यै सन्तुलनमा आएन, हामी खुब दौडियौं, नाका सहज हुने वातावरण बनेन,’ उनले भने ।

    तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतम दैनिक ६ ७ कन्टेनरबाट रोल कपडा, स्याउ र लसुन भित्रिरहेको बताउँछन् । ‘नाका जसरी सहज हुनुपर्ने थियो, त्यो भएन,’ उनले भने, ‘उच्चस्तरीय टोलीलाई हामीले यहाँको सबै विवरण दिएका छौं ।’ कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस