२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

ट्रान्सपोर्ट कम्पनीको विवादले तातोपानी नाकाको आयात प्रभावित

  • २०७८ मंसिर ११, शनिबार मा प्रकाशित २ साल अघि
  • मंसिर ११, २०७८

    चाैतारा : ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले तातोपानी भन्सारको आयातमा समस्या उत्पन्न भएको छ । ट्रान्सपोर्ट कम्पनीहरूबीच लाइनमा रहेका कन्टेनरको पालो मिलाउने र भन्सार जाँचपास गर्ने विषयमा विवाद हुने गरेको हो ।

    विवादका कारण खासा क्षेत्रमा एक सातादेखि दुई सय गाडी लाइनमा छन् । अधिकांशले स्याउ बोकेका छन् । उत्तरको अर्को नाका केरुङमा पाँच सय ६० गाडी लाइनमा छन् ।

    केरुङबाट दैनिक नौ गाडी आयात हुन्छन् । पछाडि रहेका कन्टेनरको पालो आउन केही महिना लाग्ने भएकाले रेडिमेड सामान बोकेका कन्टेनर केरुङबाट डाइभर्ट भएर खासा पुगेका छन् ।

    पालो कुरेर बस्दा विलम्ब शुल्क बढी तिर्नुपर्ने भएकाले ट्रान्सपोर्ट कम्पनीबीच पहिला जाँचपास गर्ने विषयमा विवाद हुने व्यवसायीहरूको भनाइ छ । जाङ्मुपोर्ट (खासा)मा आइपुगेका सामान चिनियाँ भन्सार जाँचपासपछि नेपालका लागि निर्यात गरिन्छ ।

    गत महिना ल्हासामा नेपाल–चीन अधिकारीबीच तातोपानी र केरुङ दुवै नाकाबाट दैनिक २०–२० गाडी आयात गर्ने सहमति भएको थियो । तातोपानीबाट अहिले दैनिक १५ देखि २० ट्रेलर सामान आयात हुन्छ । चिनियाँ एक ट्रेलरबराबर नेपाली दुई कन्टेनर हुन्छ । तातोपानीमा ‘हुक एन्ड ड्रप’ प्रणालीबाट आयात हुँदै आएको छ ।

    नाकामा चीनपट्टि तिब्बत सिल्क, मुसा र खासा ट्रान्सपोर्ट क्रियाशील छन् । नेपालपट्टि सिल्क, नमस्ते र रेवाङ कम्पनीले काम गर्छन् । ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले आयात प्रभावित भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

    चिनियाँ भन्सारमा जसको पहिला जाँचपास हुन्छ, त्यही कन्टेनर मितेरीपुल आउँछ । त्यही पालोमा नेपालमा सामान ढुवानी गर्ने व्यवस्था मिलाउने उनले प्रस्ट्याए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस