२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

नाकाको अवरोधले दसैँको सामान ६ महिनामा पनि आएन

  • २०७८ आश्विन १३, बुधबार मा प्रकाशित २ साल अघि
  • असोज १३, २०७८

    चौतारा : दसैं नजिकिएसँगै बजारमा यतिबेला चहलपहल देखिन थालेको छ ।

    कोभिड-१९ का कारण लामो समयदेखि सुनासान बजारमा दसैँको सुरुवातसँगै चहलपहल बढ्न थालेको हो । पछिल्लो वर्षको दसैँमा राम्रो व्यापार गर्न नपाएका व्यापारी यो वर्ष मनग्य कमाउने योजनामा छन् । तर उनीहरूको योजना भन्सार तथा गैरभन्सारजन्य अवरोधका कारण संकटमा परेको छ ।

    दसैँलाई लक्षित गर्दै व्यापार गर्नका लागि छ महिनाअघिदेखि सामान मगाएका व्यापारीहरू यतिबेला चिन्तित छन‍् । गर्मीका लागि र दसैँका लागि भनेर मगाइएको सामान अहिलेसम्म नआएपछि उनीहरूलाई समस्या परेको हो ।  अझ बैंकले ऋणको किस्ता मागेसँगै उनीहरूको समस्या थप बढेको छ । 

    विशेषगरी छिमेकी मुलुक चीनबाट सामान ल्याई व्यापार गर्नेहरूले यो हैरानी खेप्नुपरेको छ ।

    यसअघि हवाईमार्गबाट सामान ढुवानी गर्दा भाडा अत्यधिक महँगो हुने, पानीजहाजबाट ल्याउँदा झन्झटिलो हुने भएकाले सडकमार्गलाई व्यापारीहरूले प्राथमिकतामा राखेका थिए । तर, सडक मार्गबाट पनि सामान ल्याउने क्रममा अनेक अवरोध भैरहँदा पछिल्लो डेढ वर्षको अवधिमा व्यापारीहरूले चरणबद्ध  हैरानी व्यहोर्नुपर्‍यो । यी र यस्ता कारणले यतिबेला चीनबाट सामान ल्याएर कारोबार गर्ने काम फलामको च्युरा चपाएजस्तै भइरहेको छ । 

    ‘गत वैशाखमा मगाएको सामान अझै आएको छैन । कति सामान चाडपर्वलक्षित गरेर मगाइएको छ, कति सामान गर्मीयामलाई लक्षित गरेर मगाइएको थियो,’ व्यापारी मनोजबाबु श्रेष्ठ भन्छन्, ‘सामानमा लगानी भइसक्यो, तर गर्मीका सामान बेच्‍न पनि पाइएको छैन । चाडपर्वका सामान पनि बेच्न पाइएलाजस्तो छैन ।’ 

    आम्दानी नै गर्न नसकेको अवस्थामा बैंकले किस्ता मागेको र जरिवाना लगाएको भन्दै उनले निराशा व्यक्त गरे । 

    सामान्यतया चीनबाट सामान मगाउँदा १ हप्तादेखि १५ दिनसम्ममा आउनुपर्ने हो । तर, अहिले छ महिनादेखि एक वर्षसम्म ती सामान नआउँदा व्यवसायीहरू अत्तालिन थालेका छन् ।

    चिनियाँ व्यापार चक्रमा फसेका एक व्यापारी गत वर्ष आत्महत्या नै गर्नुपरेको उनीहरू स्मरण गर्छन् । अघिल्लो वर्ष दसैँको समयमा चीनबाट आयात व्यापार गर्ने सिन्धुपाल्चोकका हरेराम पौडेलले आत्महत्या गरेका थिए ।

    ७ वर्षदेखि चिनियाँ बजारबाट सामान लिएर बेच्दै आएका उनी आर्थिक समस्याकै कारण आत्महत्या गरेको अनुमान गरिएको थियो । छ महिनापहिले मगाएको उनको सामान आएको थिएन । पारिवारिक स्रोतअनुसार २ करोडभन्दा बढी ऋण रहेको र बैंकले उनलाई  किस्ता तिर्न निरन्तर ताकेता गरेको थियो । उनले आत्महत्या गरेपछि ऋणकै कारण तनाव व्यहोर्न नसकेको अनुमान गरिएको थियो । 

    अहिले पनि व्यापारीहरूको समस्या उस्तै छ । ‘पहिले पनि यस्तै भएको कारण हामी सचेत त थियौँ । तर गत चैत/वैशाखमा नाका केही सहज गरियो । दिनमै १५ कन्टेनरसम्मका सामान आएका थिए । अब त खुल्छ भनेर सामान हालियो, फेरि उस्तै भयो,’ चीनबाट सामान आयात गर्ने व्यापारी प्रभु अधिकारी भन्छन् । 

    सरकारले कूटनीतिक पहल गर्न नसक्दा पनि नेपाली व्यापारीहरू हेपिनुपरेको उनको गुनासो छ । 

    सडकमार्गबाट हुने ढुवानी मात्रै होइन, हवाईजहाज र पानीजहाजको माध्यमबाट हुने ढुवानीमा पनि समस्या छन् । अन्यको तुलनामा चिनियाँ सामान सस्तो हुने भएकाले सामान ल्याउन व्यापारीहरूको प्राथमिकतामा चीन पर्छ । तर, ढुवानी लागत र भन्सार तथा अन्य गैरभन्सार अवरोधका कारण चीनसँग व्यापार फाइदाजनक नभएको र अनावश्यक तनावका कारण व्यापार नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । 

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चीनबाट जम्मा ४२ अर्ब रुपैयाँको सामान आएको छ । यो समयमा आयात भएको जम्मा कारोबारको १३ प्रतिशत मात्रै हो । यो समयमा विश्वभरबाट नेपालमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

    तातोपानी र रसुवा नाका स्थलमार्गका लागि चीनसँग व्यापार गर्ने मुख्य नाका हुन् । यी दुई नाकाबाट २ महिनाको अवधिमा ५ अर्ब रुपैयाँको पनि सामान आयात भएको छैन । जसमसध्ये रसुवागढीबाट ४ अर्ब ११ करोड र तातोपानीबाट ८० करोडको सामान मात्रै आयात भएको छ । निर्यात भने शून्य नै छ ।

    आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा यी दुई नाकाबाट १० अर्ब रुपैयाँको आयात र १ अर्ब रुपैयाँको निर्यात भएको थियो । 

    महँगो भाडा

    दुई वर्षअघिसम्म चिनियाँ नाकाबाट एक कन्टेनर सामान ल्याउँदा ढुवानी शुल्क १ हजार आरएमबी (चिनियाँ युआन) तिरे पुग्थ्यो । तर, अहिले सोही कामका लागि ४ हजार आरएमबीसम्म तिर्नुपर्ने अवस्था छ । एक आरएमबी बराबर १८ रुपैयाँ २४ पैसा हुन्छ । यस हिसाबले एक कन्टेनर सामान ल्याउन करिब ७३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । ढुवानी भाडा चार गुणासम्म महँगो परेपछि व्यवसायीहरू मर्कामा छन् ।

    ‘चिनियाँ कन्टेनर व्यवसायीले जति भन्यो, त्यति दिनुपर्छ । त्यसो भएन भने सामान नै आउँदैन । यसले गर्दा सामान महँगो पर्न गएको छ,’ नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्की गुनासो गर्छन्, ‘महँगो परे पनि समयमा आउला भनेर हालेको सामान पाँच महिना बित्दा पनि आउँदैन, हामी कसरी व्यवसाय गर्नु ? कसरी बैंकको ऋण तिर्नु ?’

    त्यसो त, कन्टेनरको भाडा मात्रै होइन, कतिपय समयमा कन्टेनर नै नपाइने समस्यासमेत छ । चिनियाँ कन्टेनर ठूलो हुने भएकाले नेपालमा दुई कन्टेनर हुन्छ । ती सामान ल्याउने क्रममा फेरि भाडाको मोलमोलाई गर्नुपर्ने बाध्यता छ । यसका कारण हैरानीमा परेका व्यापारीलाई सामानको भन्सार पास गर्ने अर्को चुनौती छ । महिनौँसम्म भन्सार पास नहुँदा सामानको लागत बढ्ने र कतिपय सामाज सिजनपछि आइपुग्ने समस्यासमेत छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस