२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह : तातोपानी नाका सञ्चालनको पहल गरिदिनुस्

  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • साउन ३०, २०७८

    चौतारा : नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग राखेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने माग राखेका हुन् ।

    भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन भइरहेको नाका निरन्तर सञ्चालनमा ल्याउन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले ज्ञापन पत्र बुझाउँदै पूर्ण रुपले सञ्चालनका लागि माग गरिएको हो ।

    संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीन बीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासामू व्यापारीहरु पुगेका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

    नाका अस्थिर हुँदा सयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ ।

    नाकाबाट हुने व्यापारका साथै प्रधानमन्त्री सामू उद्योग बाणिज्य संघ र सीमापार बाणिज्य संघले विपद न्यूनीकरणका लागि पहल गरिदिन अनुरोध समेत गरे ।

    सिन्धुपाल्चोकमा यस अघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदि पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

    कोदारी, तातोपानी, चाकु, बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक अध्ययन गरि स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योृग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले बताए ।

    पटक पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । बाह्रविसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिलेसम्म बन्न सकेको छैन ।

    क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवं उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको नेपाल हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस