२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेलम्ची खानेपानी आयोजना फेरि अनिश्चित

  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • साउन २९, २०७८

    चौतारा : मेलम्चीको पानी पिउन काठमाडौं उपत्यकाबासीले घोषित मितियता तीन दशक समय कुर्नुपर्‍यो। बल्लतल्ल पानी त पिउन पाइयो, तर, असार र साउनमा आएको बाढीले आयोजनाको मुहानलाई भताभुङ्ग बनाइदिएको छ। 

    अब मेलम्चीको पानी फेरि कहिले आउने हो, अनिश्चित बनेको छ। असारमा मेलम्ची र इन्द्रावती नदीमा चलेको ठूलो बाढीले मुहानमै क्षति पुर्‍याएकाले उपत्यकामा मेलम्चीको पानी फेरि आइपुग्ने मिति तोक्न मुस्किल रहेको आयोजनाका अधिकारीहरू बताउँछन्‌।

    ​मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असारमा आएको बाढीले खानेपानीको हेडबक्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २०० मिटर डाइभर्सन माटोले पुरिएको छ। साउन १६ र १७ गते आएको बाढीले पुल नै बगाएपछि अहिले आयोजनाको सुरुङ जाने बाटो बन्द भएको छ।

    मेलम्चीबाट ल्याइएको पानी चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएको थियो। पछि दैनिक १७ करोड लिटरसम्म पानी वितरण गरिएको थियो।

    काकाकुल अवस्थामा रहेका उपत्यकाबासीमा मेलम्चीको खानेपानी पिउन पाएपछि खुसीको सीमा थिएन। तर, सिन्धुपाल्चोकमा चलेको बाढीपहिरोले सबै खुशी बगाइदियो।​

    आयोजनाका प्रवक्ता पन्तले वर्षायाम कटेपछि मात्रै क्षति पुगेको आयोजना मर्मत गर्ने जानकारी दिएका छन्‌।

    ​उनले भने, ‘अहिले त्यहाँ जान सकिने अवस्था छैन, त्यसैले हामीले केही गर्न सकेका छैनौँ, वर्षात् सकिएपछि मात्रै त्यहाँ मर्मत सम्भारको काम शुरू हुन्छ।’ बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएकाे पन्तको भनाइ छ।

    आयोजनाले असार १ गतेबाट सुरुङ परीक्षण गर्न भन्दै पानी भने सुरुङमा पठाएको थिएन। परीक्षणमा करिब दुई महिना समय लाग्ने र त्यसपछि पानी उपत्यकामा पठाउने योजना आयोजनाको थियो। तर, सो योजना बाढीले पूरा गर्न दिएन।

    आयोजनाका प्रवक्ता पन्तले उपत्यकाभित्र पानी कहिले आउला भनी निश्चित समय तोक्न नसकिने बताए।

    भने, ‘हिउँदमा अस्थायी रूपले वैकल्पिक बाटो बनाएर उपकरण त्यहाँ लान्छौँ, थोरैमात्र माटो सुरुङभित्र पसेको छ भने निकालेर एक सातामा पानी सुरुङभित्र पठाउँछौँ, भरिएपछि उपत्यकामा पठाइन्छ। तर, धेरै माटोले पुरिएको छ भने चाहीँ समय लाग्छ, त्यसपछि त्यहाँ गएपछि मात्रै कहिले उपत्यकावासीले पिउन पाउँछन भन्न सकिन्छ।’  

    आयोजना क्षेत्र पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढीले क्षति पुर्‍याएकाे आयोजना मर्मतसम्भार गर्न गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए।

    ‘पहिला पनि आयोजनामा हामीले सहयोग गरेका हौँ, छिटो उपत्यकामा पानी पठाउन जे-जस्तो सहयोग भएपनि हामी गर्न तयार छौँ, बाढीले आयोजना क्षतविक्षत बनाउँदा धेरै दु:खी तुल्याएको छ,’ उनले भने।

    हिउँद लागेपछि अस्थायी रूपमै भएपनि उपत्यकाबासीकाे पानी पिउने चाहना पूरा हुनसक्ने शेर्पाले बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस