२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

लिदी पीडित एक वर्षपछि टेण्टबाट टहराेमा, स्थायी आवासकाे टुंगो छैन

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २४, २०७८

    चाैतारा : सिन्धुपाल्चोक जिल्ला बाढीपहिराे , चट्याङ जस्ता प्राकृतिक विपत्तिकाे उच्च जाेखिममा रहेकाे जिल्ला हाे ।

    यस्ता प्रकोपका कारण बारम्बार ठुलाे जनधनकाे क्षति हुने गरेकाे भएता पनि यहाँ राहत तथा उद्धारकाे काम ज्यादै सुस्त गतिमा हुने गरेकाे छ ।

    एउटै पहिराेमा ३९ जनाले ज्यान गुमाउनु परेकाे सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका २०९ घरमध्ये ३१ परिवारले एक वर्षपछि अस्थायी घर पाएका छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्राप्त सामग्रीबाट नेपाली सेनाले आवास निर्माण गरेको हो ।

    २०७७ साउन ३० गते विहान सिन्धुपाल्चोकको जुगल गाँउपालिका २, लिदीमा पहिरो झर्दा ३४ घर पुरिएकोे थियो । पहिरोले गाँउनै जोखिम भएपछि त्यहाँका दुई सय ९ घर विस्थापित भई जुगलकै वडा १, बाँसखर्कमा आइ बसोबास गरिरहेका छन् ।

    १ वर्षदेखि कष्टकर जिवन विताइरहेकामध्ये घर गुमाएका ३१ परिवारको लागि पहिलो चरणमा अस्थायी आवास उपलब्ध गराइएको हो ।

    बाँसखर्कमा अस्थायी आवास निर्माणको लागि पहिलोपटक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको समन्वयमा क्रिकेटर सन्दीप लामिछानेले जस्ता र फलामे डण्डी उपलब्ध गराएका थिए । त्यसपछि सिन्धु पर्यटन परिषद् लगाएतका विभिन्न संस्थाहरुले समेत आवश्यक सामाग्री हस्तान्तरण गरेका थिए ।

    लिदीमा विस्थापित भएका सबै परिवार अहिले पनि बाँसखर्कमा नै बसिरहेका छन् । आफुहरु सबै आवासको उस्तै समस्यामा भएपनि पहिलो चरणमा अति प्रभावितलाई आवास दिएकोमा स्थानीयहरु समेत खुसी भएका छन् ।

    पहिराेमा आफ्नाे परिवारकाे ७ जना गुमाएकी ७१ बर्षिय निस्माइ तामाङले टेण्टबाट टहराेमा सर्न पाएकाेमा खुसि व्यक्त गरिन्। अब आफुहरुले पनि छिट्टै अस्थायी आवासको व्यवस्था गरिनुपर्ने पीडितहरुको माग छ ।

    पहिरोमा विस्थापित भएका सबैको लगत संकलन गरि राष्ट्रिय विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । प्राधिकरणबाट लाभग्राही कायम भएपछि अस्थायी आवास निर्माणको लागि ५० हजार र स्थायी आवास निर्माणको लागि ५ पाँच लाख रुपैंया पाउने छन् ।

    पहिरो प्रभावितहरु आफुहरु पहिलेकै स्थानमा बस्न नसक्ने भएकोले सरकारले जग्गाको पनि प्रबन्ध गरिदिन आग्रह गरेको र आफुहरुले समेत सोही अनुसार निर्णय गरि पठाएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले बताए ।

    पहिरो प्रभावितहरुले ढिलै भएपनि अस्थायी आवास पाएका छन् । तर, पहिरोको छोटो समयमै अस्थायी आवासको व्यवस्थापन गर्न सक्ने स्थानीय तह भने दाताहरुले दिएकाे त्रिपाल र चामल बाँडेरै एक वर्ष बिताउनु गैरजिम्मेवारपुर्ण कुरा हो ।

    अब बाँकी रहेका परिवारलाई पनि तत्काल सुरक्षित अस्थायी आवासमा सार्दै स्थायी आवास बनाउन सहयोग गर्नु स्थानिय तहको जिम्मेवारी हो । अस्थायी टहरा निर्माण गर्ने काम बित्तिकाे तत्कालै एक महिना भित्रमा सक्नुपर्ने काम गर्न १ बर्ष लाग्याे । अब स्थायी आवास बन्न कति समय लाग्ला? याे कामबाट पनि अनुमान गर्न सकिन्छ ।

    पहिराे गएकाे १ बर्ष बितिसक्दा पनि स्थायी आवास कहाँ कसरी बनाउने भन्ने याेजना स्थानिय सरकारले अझै बनाउन सकेकाे छैन । अन्य कामकाे सवालमा आफ्नाे अधिकारक्षेत्रबारे सिकाउने अधिकार सम्पन्न स्थानीय सरकार पीडितहरुकाे व्यवस्थापनकाे सवालमा भने चुकेकाे छ ।

    प्रदेश र संघीय सरकारबीच समन्वय गरि दुर्त गतिमा काम हुन सकेकाे भए पीडितले आजभन्दा पहिलेनै स्थायी आवास पाइसकेका हुन्थ्ये । तर, स्थानीय सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीति दलका नेताहरुले उचित ध्यान दिन नसक्दा पहिराेकाे १ बर्ष पछि बल्ल टेण्टबाट टहराेमा जीवन गुजारा गर्न बाध्य भएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस