२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

कोदारी राजमार्ग भासियो, बस्ती पनि उच्च जोखिममा

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन २४, २०७८

    चौतारा : तातोपानी नाका जोड्ने लिपिङ पुल, कोदारी र घट्टे खण्ड भासिएको छ। एक महिनाअघि मर्मत गरेर सञ्चालनमा आएको कोदारी राजमार्गमा फेरि बगाएको हो।

    गत असार १ मा ३५ मिटर भासिएपछि सडक मर्मत गरिएको थियो । सडक भासिएको ठाउँमाथि बस्ती छ । त्यस क्षेत्रमा तत्कालै खन्दा माथिल्लो कोदारी र चौकी डाँडाको विभिन्न बस्ती पनि भासिने जोखिम रहेको चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतोले बताए।

    बस्ती पूरै बग्ला भन्ने डर भएकाले बर्खाका कारण एकदमै सतर्कतासाथ मर्मत गरेर सडक सञ्चालनमा ल्याएपनि फेरि फेरि भासिएको उनले बताए।

    सडक भासिएपछि तातोपानी नाकाबाट सामान आउन ठप्प भएको छ । कन्टेनरलाई स्थलमार्गबाट आउजाउ गर्न सकस भएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारका अधिकृत नारद गौतमले बताए ।

    सडकको अवरोधकै कारण तातोपानी नाकाको मितेरी पुलमा सामग्री लिन पुगेका दर्जनौं कन्टेनर उतै रोकिएको उनले जानकारी दिए । बुधबारको वर्षाले जमिन भासिएपछि भोटेकोसी–४ फुल्पिङकट्टीको च्याम्डाँडामुनि रहेको स्याखुले टोलका चार परिवार विस्थापित भएका छन् ।

    त्यसैगरी भोटेकोसी–२ कै कोदारी भेगको लालवीर चोक र माख्लो तामाङ गाउँ गरी एक सय घरमध्ये ३० परिवार उच्च जोखिममा परेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस