२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द

  • २०७८ श्रावण १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • साउन १७, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७।५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ ।

    शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो ।

    यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

    सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र एउटा भाँचिएको छ । यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उनको भनाइ छ । अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमा समस्या रहेकाले विद्युत् पुनः सञ्चालन हुन केही समय लाग्ने हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

    बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुङ्गे पुलहरूसमेत बाढीले बगाउँदा मर्मतसम्भार र पुनः निर्माण झन कठिनाइपूर्ण रहेकाले समय लाग्ने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस