२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मध्य भोटेकोशीको आईपीओ भर्ने समय थपियो, कहिलेसम्म पाइन्छ ?

  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित २ साल अघि
  • साउन १६, २०७८

    चौतारा : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।

    भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

    अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका हुन्।

    मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्काशन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको हो।

    तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ।

    यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा पुनस् विक्री खुला गरिएको थियो। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

    निष्कासन गरिएको कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आवेदन दिन पाउनेछन्।

    कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ।

    आईपीओ विक्रीका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ र काठमाडौंमा सात वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिनेछ।

    मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै अर्थात् ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर संरचना उक्त कम्पनीमा रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस