२०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

मेलम्चीबाट प्रतिसेकेन्ड २६० लिटर पानी पठाइँदै, अझै एक हप्ता लाग्ने

  • २०७७ फागुन १९, बुधबार मा प्रकाशित ५ साल अघि
  • फागुन १९, २०७७

    चौतारा : मेलम्ची नदीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझै एक हप्ता समय लाग्ने भएको छ । हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

    यही फागुन २६ गते भित्र पानी सुन्दरीजलमा आइपुग्ने उनले बताए। मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुन्दरीजलस्थित महाँकालमा रहेको सुरुङभित्रको ढोका बन्द गरेर सिसी क्यामराको सहायताले सुरुङ भित्रको पानीको अवस्था हेरिरहेको उनको भनाई छ।

    मेलम्ची खोलाको पानी मध्ये थोरै पानी परीक्षणका लागि पठाइएकाले सुरुङ भरिँदै पानी अगाडि बढाइएको हो । पानी पठाएसँगै पानीको चुहावटदेखि सबै कुरा चेकजाँच गर्नको लागि टनेलभित्र प्रेसर सेन्सर राखिएको छ।

    यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको छ।

    सुरुङमा हालिएको पानी चुहावट भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्नेदेखि अन्य विभिन्न तयारी भइरहेकोे छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

    फागुन १० गते खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका थिए। परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्नेछ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो।

    गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको दश दिनमा हेलुम्बु गाउँपालिका– १ अम्बाथानको अडिटको मुख्य गेट फुटेर परीक्षण असफल भएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस