
भदौ २४, २०७७
काठमाडौँः कोरोनाको कारणले बन्द रहेको सबै सार्वजनीक सवारी साधान सञ्चालनमा आउने भएको छ। आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले घोषणा गरेका छन्।
सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले सवारी सञ्चालनमा ल्याउने निर्णय गरेका हुन्।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले जानकारी दिए।
सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए। सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उनले बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए। कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए।
यद्यपी यातायात सञ्चालन गर्दा सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने यातायात व्यसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस