
साउन २४, २०७७
मेलम्चीः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको आफ्नो जग्गाको उचित क्षतिपूर्ति नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण याङ्री लार्केको काममा स्थानीयले अवरोध गरेका छन् । उनीहरूले आफ्नो जग्गाको उचित क्षतिपूर्ति माग गर्दै काममा अवरोध गरेका हुन्।
पीडित स्थानीयले सडक मर्मत गर्न गएको ठेकेदारको मेसिन रोकेका छन् । साविक थाङ्पालधाप १, २, ३ र ४ का स्थानीयले आयोजनाको काम गर्दा आफ्नो बालीनालीमा भएको क्षति जाँच गरी क्षतिपूर्ति उपलब्ध गराउन गरेको आग्रह नमानेको भन्दै काम रोकेको स्थानीय जनकलाल श्रेष्ठले बताए।
साथै उनीहरूले स्थानीयको माग बमोजिम मुआब्जा वितरण गर्न पनि माग गरेका छन् । आयोजनाको काम पुनः सुचारु गर्नुअघि स्थानीय प्रभावित परियोजना सम्बद्ध सरोकारवाला पक्षको जग्गाको मुआब्जा पुनरावलोकन, अधिकरण गरिने जग्गाको सीमाङ्कन तथा नक्शाङकनको विषयमा प्रविधिक खटाउनुपर्ने, अधिकरण गरिने जग्गामा बनेका संरचना, बालीनाली एवम् बोटबिरुवाको उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
प्रभावितको माग पूरा नगरे काम अघि बढ्न नदिने चेतावनी दिएका छन् । उनीहरूले पाँच पोखरी थाङपालगाँउपालिका ६ स्तरीय याङ्गी्र लार्के परियोजना प्रभावित सरोकार समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।
यसअघि याङरी–लार्के खानेपानी प्रभावित मध्ये साबिक थाङ्गपालधाप १, २, ३ र ४ को गुनासोको बारेमा माग पुरा गर्न मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस