२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

जुगल हिमाल आरोहणको तयारी

  • २०७४ चैत्र १६, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    १६ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    पर्यटन क्षेत्रको विकास गरी समृद्ध जिल्ला बनाउने लक्ष्यसहित सिन्धुपाल्चोक पर्यटन परिषद्ले जुगल हिमाल आरोहणको तयारी थालेको छ । नेपाल सरकारका मन्त्री, सांसद, नगर तथा गाउँपालिका प्रमुख, जिल्लास्थित राजनीतिक दल र कर्मचारीलाई एकै ठाउँमा भेला गरेर परिषद्ले हिमाल आरोहणको घोषणा गरेको हो ।

    फुर्बघ्येच्युर र दोर्जे लाक्पाको बीचमा रहेको ५,८०० मिटर अग्लो जुगल हिमाल आरोहणलाई पर्यटकका लागि नयाँ गन्तब्य बनाउने सर्वपक्षीय भेलाले संकल्प गरेको छ । जुगल गाउँपालिका–३ गुम्बामा पर्ने यो हिमालको आधारक्षेत्र बुम्बासेर्पु–ङ्याङखर्क पुग्ने पूर्वाधार तयार पार्नसके आरोहण गर्न अन्य हिमालभन्दा सजिलो छ । यद्यपि आधारक्षेत्र पुग्ने बाटो सहज नभएकोले पाँच लाख रकम खर्चेर ठाउँठाउँमा रहेको पहिरो पन्छाउने कामको सुरुवात गरिएको छ ।

    ०७५ असोज १६ देखि २७ गतेसम्म जुगल हिमालको पहिलो आरोहण हुने परिषद्का महासचिव मिलन तामाङले जानकारी दिए । ‘१२ दिन लगाएर नयाँ गन्तब्यको रुट स्थापित गरिन्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गरी जिल्लालाई समृद्ध बनाउने हाम्रो लक्ष्य हो ।’ भूकम्पबाट क्षतिग्रस्त हिमाली क्षेत्रका एकसय ५० होटेल, एकसय ५० गुम्बा, ९० स्तुपा र ६० मन्दिरको शीघ्र पुनर्निर्माण थाल्न सर्वपक्षीय भेलाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

    आरोहण सफल पारी जुगललाई अन्तर्राष्ट्रिस्तरको पर्यटकीय रुटको रुपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले पूरै सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले बताए । आरोहणलाई दुई चरणमा राखेर काम सुरु भएको छ । ०७५ बैशाख १२ देखि २५ गतेसम्म हिमालको काँखमा रहेको गाउँ तेम्बाथानका स्थानीयसहितको प्राविधिक टोलीले रुटको अध्ययन गर्नेछन् । अध्ययन टोलीलाई आवश्यक खर्च १५ लाख प्रस्ताव गरिएको छ । सरकारी, राजनीति र सामाजिक  क्षेत्रमा जिल्लाभित्र क्रियाशील विभिन्न व्यक्तिले जुगल हिमालको पहिलो आरोहण गर्नेछन् । आरोहणका लागि परिषद्ले २३ लाख ५० हजार प्रस्ताव गरेको छ ।

    काठमाडौबाट मोटर चढेर पाँच घण्टामा जुगल गाउँपालिकाको गुम्बा पुग्न सकिन्छ । गुम्बाबाट आधारक्षेत्र पुग्न २० घण्टा लाग्छ । गुम्बा, तेम्बाथान, छेन्दाङ, ने–पेमासाल, बुम्बासेर्बु हुँदै ङ्याङखर्क पुगेपछि जुगल हिमाल आरोहणको मुख्य कदम सुरु हुन्छ ।

    गन्जलापास–तिलमानपास खोल्ने, ने–पेमासाल चिनाउने

    जुगल हिमाललाई आरोहणको नयाँ गन्तब्य बनाउन सिन्धुपाल्चोक र रसुवाको सीमानामा पर्ने गन्जलापास नाका खोल्ने तयारी परिषद्ले गरेको छ । लाङटाङ क्षेत्रमा पर्ने गन्जलापास र भोताङमाथि रहेको धार्मिकस्थल पाँचपोखरी निस्कने अर्को नाका तिलमानपास खोल्नसके चारैतिरबाट जुगल हिमाल आरोहणका लागि आरोही र दृश्यावलोकन गर्ने पर्यटक ओइरिने परिषद्को आँकलन छ ।

    सन् २०१४ मा लाङटाङ क्षेत्रबाट चार हजार दुईसय ३० पर्यटक प्रवेश गरेका थिए । गन्जलापास र तिलमानपास नाका खुलाउँदा हिमाली दृश्यावलोकन गर्दै पर्यटक सहजढंगले राजधानी फर्कन सक्छन् । भूकम्पपछि लाङटाङ र कोदारी नाकाबाट पर्यटक आएका छैनन् । सन् २०१४ को सरकारी रेकर्डअनुसार दुबै नाका भएर जिल्ला भित्रिने बाह्य पर्यटकको संख्या ८४ हजार नौसय ७५ थियो ।

    चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लालाई छोएको जुगल हिमश्रृङ्खलालाई चिनाउने ऐतिहासिक धार्मिक क्षेत्र ने–पेमासाललाई विश्वमा चिनाउने तयारी पनि गरिएको  छ । काठमाडौबाट एकसय २५ किलोमिटरको दूरीमा रहेको ने–पेमासाल वरिपरिबाट हिमालले ढाकेको ठूलो चउर हो  । जहाँ आठसय घरधुरी अट्ने ठाउँ छ । चउरनजिकै एकहजार मानिस अट्ने गुफा छ । जसको नाम तोङ्सुक्बा हो । बौद्ध धर्मअनुसार संसारका उत्तम १० भूमिमध्ये ने–पेमासाललाई गुरु रिम्पोचेले आफ्नो पुस्तकमा पहिलो नम्बरमा उल्लेख गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस