
खबरज्योति
२४ असोज २०७४, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा अझै ७ सय बालबालिका विद्यालयबाहिर रहेका छन् । देशकै पहिलो पूर्णसाक्षर जिल्ला भनिएपनि ६ सय ४६ जना बालवालिका विद्यालय जानबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालयसँग तथ्यांक छ ।
शिक्षा कार्यालयले ५ देखि १४ वर्षसम्मका बालबालिकामा गरेको सर्वेक्षण अनुसार ६ सय ४६ जना बालवालिका विद्यालय बाहिर रहेको तथ्याङ्क निस्किएको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी अशोक पराजुलीले जानकारी दिए ।
पारिवारिक बाध्यता र सरकारको कमजोर शैक्षिक योजनाका कारण बालबालिकाहरु विद्यालय बाहिर हुने गरेको शिक्षाविद्हरुको भनाई छ । पहिलो पूर्णसाक्षर जिल्लामा यत्तिको संख्यामा बालबालिका विद्यालय बाहिर हुनु लज्जास्पद् कुरा रहेको जिल्लाका पुराना प्राध्यापक यज्ञप्रसाद दंगाल बताउँछन् ।
आर्थिक वर्ष ०६७/०६८ देखि सञ्चालित साक्षरता कक्षाबाट पूर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सिन्धुपाल्चोक नेपालकै पहिलो साक्षर जिल्लाको रुपमा घोषणा गरेका थिए ।
तर, सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरका कारण नै विद्यार्थी संख्या घट्दै जाने र बालबालिका विद्यालय बाहिर हुने गरेको छ । सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको मात्र होइन, कतिपय सामुदायिक विद्यालयमा त विद्यार्थी संख्या शून्यमा नै झरेका छन् ।
शिक्षा कार्यालयले भने विद्यालय बाहिर रहेको बालबालिकालाई शिक्षा प्रदान गर्ने अभियान सुरु गरेका जनाएको छ । ‘हामीले संघसंस्थाहरुसँग सहयोग माग गरेका छौँ’, सूचना अधिकृत पराजुलीले भने– ‘उनीहरुबाट सहयोग पाउँना साथ विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय फर्काउछौँ ।’

प्रतिक्रिया दिनुहोस